News

मन्दिरमा पशुपन्छी बलि रोक्न अदालतको आदेश

मन्दिरमा पशुपन्छी बलि रोक्न अदालतको आदेश

काठमाडौं– भारतको त्रिपुरा राज्यमा नवरात्र भर मन्दिरमा पशुपन्छीको बलि रोक्न अदालतले आदेश दिएकाे छ। उक्त राज्यकाे हाइकोर्टले सबै मन्दिरमा पशुपन्छीको बलि रोक्न आदेश जारी गरेको हाे। 

भारतको संविधानको धारा २१ अन्तर्गत सबै जनावरको बाँच्न पाउने मौलिक हक भएको भन्दै शुक्रबार हाइकोर्टले यस्तो आदेश गरेको द बायरले समाचार लेखेकाे छ।

द बायरका अनुसार हाइकोर्टको  मुख्य न्यायाधीश सञ्जय करोल र न्यायाधीश अरिन्दम् लोधको इजलासले सार्वजनिक सरोकारको एक याचिकामा सुनुवाई गर्दै यस्तो आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘राज्यसहित अन्य कसैको पनि राज्यभित्र कुनै पनि मन्दिरको प्राङ्गणमा पशु/पन्छीको बलि दिने अनुमति हुने छैन।’

इजलासले सबै जिल्ला अधिकारी र प्रहरी अधीक्षकलाई पनि यो आदेश कार्यान्वयन गर्न सुनिश्चित गर्न आदेश गरेको छ।

इजलासले राज्यको मुख्य सचिवलाई दुई प्रमुख मन्दिर देवी त्रिपुरेश्वरी मन्दिर एवं चतुरदास देवता मन्दिरमा तत्काल सीसीटिभी क्यामेर लगाउनसमेत आदेश गरेको छ।

यी दुई मन्दिरमा ठूलो संख्यामा पशु बलि दिने गरिएको छ।

अदालतले मन्दिरमा कुनै जनावरको बलिदान, धर्मको एक हिस्सा नभएको भन्दै भारतको संविधानको धारा २१ को उल्लंघन हुने भनेको छ।

अदालतका एक सेवानिवृत्त न्यायिक अधिकारी सुभाष भट्टचार्जीले अन्धविश्वासका आधारमा मुख्य मन्दिर माता त्रिपुरेश्वरी देवी र चतुरदास देवता मन्दिरमा देवीदेवताका लागि दिने बलि रोक्न माग गर्दै जनहित याचिका दायर गरेका थिए।

याचिकाको सुनुवाई गर्दै हाईकोर्टले यस्तो निर्देशन जारी गरेको हो।

विशेष