News

दशैँ हिलाम्य हुने, मनसुन दशैँभर रहने 

दशैँ हिलाम्य हुने, मनसुन दशैँभर रहने 

काठमाडौँ । मनसुन अझै दश दिनसम्म रहने भएपछि दशैँ हिलाम्य हुन देखिएको छ । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । तर यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ । मनसुन अक्टोबार सकिने गर्छ । नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने संकेत भने देखिँदैन ।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरु हुनुपर्छ । अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता/१० दिनसम्म कायम रहने संकेत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हुँदैन । उनी भन्छिन् –‘‘ मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ ।’

पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ । यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने संकेत देखिन्छ । नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् ।

मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई पनि प्रभावित तुल्याएको छ । 
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ ।

विशेष