News

बढी भाडा असुल्ने ५ जनासहित ९ जना चालक परे प्रहरीको फन्दामा

बढी भाडा असुल्ने ५ जनासहित ९ जना चालक परे प्रहरीको फन्दामा

काठमाडौँ — टिकट काउन्टरबाट यात्रुसँग बढी भाडा असुलेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा   मकवानपुरका श्रीराम स्याङ्तान, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल, पाँचथरका उपेन्द्र ढुंगाना र महोत्तरीका विशाल घिसिङ रहेका छन् ।

दसैं मनाउन घर जाने यात्रुसँग बढी भाडा असुले भन्दै प्रहरीले उनीहरुलाई टिकट काउन्टरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र तीनकुनेमा राखिएको छ । आरोपितहरुमाथि ठगी अभियोगमा मुद्दा दायर गरिने एसएसपी ढकालले बताए । उनका अनुसार राजधानीका यातायात काउन्टरको निगरानीमा समेत सादा पोशाकका ट्राफिक प्रहरीलाई खटाइएको छ ।

दसैं लक्षित अग्रिम बुकिङ खुलेपछि ९ जना चालकसमेत पक्राउ परेका छन् । लामो दूरीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने प्रवाधान उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
 

विशेष