News

नेकपाका कार्यकर्ताकाे सुनियाेजित आक्रमण : डा‍. रिजाल

नेकपाका कार्यकर्ताकाे सुनियाेजित आक्रमण : डा‍. रिजाल

तनहुँ । नेपाली कांग्रेस नेता डा मिनेन्द्र रिजालले तनहुँमा आफूमाथि नेकपाको नियोजित आक्रमण भएको बताएका छन्। तनहुँको रिसिङ गाउँपालिकाको भवन उद्घाटनका लागि पुगेका रिजालमाथि भएको आक्रमणबारे नेपाल आजसँग कुरा गर्दै उनले भने, ‘नेकपाका कार्यकर्ताहरु ढुंगा, वियरका बोत्तल, लठ्ठी, भालालगायत हतियारसहित योजनाबद्ध रुपमा आक्रमण गरियो।’

३ घण्टासम्म पनि नेकपाका कार्यकर्ता हुलदंगा गर्दापनि प्रहरी प्रशासन मौन रहेको उनले बताए। ‘प्रहरीकै मिलोमतोमा आक्रमण गरियो, कार्यक्रममा जानै नदिने गरी षडयन्त्र गरिएको रहेछ। यो निषेधको राजनीति सुरु भएको हो ।’  

यसबारे प्रमुख जिल्ला अधिकारीसँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुराकानी गर्दा प्रमुख जिल्ला अधिकारीले कार्यक्रम नगर्न सुझाव दिएकाले पनि सरकारकै मिलेमतोमा घटना भएको उनको भनाइ छ । 

रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका कांग्रेसका नेता रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका हुन्। रिसिङ गाउँपालिकामा नेपाली कांग्रेसको पूरै जित भएकाले आफूहरु त्यहाँ पुगेको रिजालले बताए । 

प्रतिकार गर्ने कांग्रेसको चेतावनी 
यसैबीच रिजालमाथि भएको आक्रमणबारे ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेसले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गरेको र खुकुरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेकोे भन्दै कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गरिएको जनाइको छ । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक रहेको कांग्रेसको निष्कर्ष छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन कांग्रेसले सबैलाई आग्रह समेत गरेको छ ।

मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने भन्दै कांग्रेसले लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिएको छ ।

विशेष