समुद्री आँधी ‘डोरिअन’ ले बहामस तहसनहस, फ्लोरिडामा उच्च सतर्कता
प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा आएको समुद्री आँधी डोरिअनले बहामस अस्तव्यस्त भएको छ । समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन ‘अति खतरानाक’ आँधी हो ।
आँधीले बहमसका सयौं घरमा छाना उडाएको छ भने सयौं भवन भत्किएका छन् । समुद्रको पानीसमेत आँधीले उडाएपछि थुप्रै ठाउँमा बाढी आएको छ । बहामाका बासिन्दाहरूलाई आँधीको मार्गबाट अन्यत्र सारिएको छ ।
जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन् ।
बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । फ्लोरिडामा आँधीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ ।