News

आजदेखि हिमालयन आर्ट फेस्टिभल, २५ लाखसम्मका पेन्टिङ प्रदर्शन

आजदेखि हिमालयन आर्ट फेस्टिभल, २५ लाखसम्मका पेन्टिङ प्रदर्शन

काठमाडौं : १ सय ५० जना कलाकारका २ सयवटा पेन्टिङ आइतवारदेखि प्रदर्शन हुँदै छन्। नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा आइतबार देखि बिहीबारसम्म हिमालयन आर्ट फेस्टिभल हुन लागेको हो।

हिमालयन आर्ट फेस्टिभलमा १ सय ५० जना कलाकारको २ सय पेन्टिङ प्रदर्शनमा राखिने भएको छ। फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएका आयोजक हिमालयन आर्ट फेस्टिभलले जनाएको छ। आयोजक सदस्य विदाता केसीले भनिन्, ‘नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो।

नेपालका कलाकारले बनाएका चित्रलाई विश्वबजारमा चिनाउने हिसाबले नेपाली कलाकारको बायोडाटासहित अनलाइनमा पेन्टिङ राखिएको केसीले बताइन्। हिमालयन आर्ट फेस्टिभलमा नेपालका प्रशिक्षार्थी कलाकारदेखि दिग्गज कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपालीलगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन्। उत्तम नेपाली कलाका क्षेत्रमार्फत आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन्। उनको रङमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइने पौवा कलाकार अजय बज्राचार्यले बताए।

‘उत्तम नेपालीका पेन्टिङहरूले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको संश्लेषण गर्दछ। उनका केही सिर्जनाले अभिव्यक्ति, अमूर्तता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृश्यकलाबीचको भावनात्मक निकटताको अनुभूति झल्काउँछन्,’ उनले भने।

चित्रकारका मौखिम पाठ क्यानभासमा देवनागरी लिपिमा अंकित गरिएको छ। ‘कवि र चित्रकारको आपसी समिश्रणले के सुझाउँछन् भने उनीहरू समान भावना, अनुभव र दृष्टिका साथ काम गर्छन् कम वा बेसी रूपमा उनीहरू समान तरिकाले वास्तविकलाई सम्झिने/बुझ्ने बोध गर्ने गर्छन् र आफ्ना रचनामा समान दृष्टि चित्रण गर्छन्,’ कलाकार आशा डंगोलले भनिन्।

प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिकलगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने पनि आयोजकले जनाएको छ। ‘मानिसको शरीरलाई वस्तु जस्तै ठानेर कलात्मक शैलीमा उतार्ने हाम्रो प्रयास रहने छ,’ बिन्दू स्पेसका संयोजक पृथ्वी श्रेष्ठले भने, ‘हामीले विभिन्न गीत, लाइट र मानव शरीरको संयोजनमा कलाकारिता प्रदर्शन गर्ने हो। यसलाई नाच मात्र नभएर कलाकारिताको रूपमा लिइन्छ।'

नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताइन्। ‘हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ। यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,’ उनले भनिन्।

हिमालयन आर्ट फेस्टिभल पेन्टिङ प्रदर्शन

विशेष