जथाभावी बाटो काट्नेहरु होसियार! सरकारले ल्याउँदैछ यस्तो नियम...
जथाभावी बाटो काट्नेहरु अब होसियार हुन जरुरी छ। जथाभावी बाटो काट्ने बानी छ भने छिट्टै नै परिवर्तन गरे जरिवाना र सजयबाट बच्न सकिन्छ।। सडकमा भएको जेब्राक्रस भन्दा बाहिरबाट बाटो काटे जरिवाना लाग्ने नियम सरकारले ल्याउँदै छ।
गण्डकी प्रदेश सरकारले ल्याएको प्रदेश सवारी तथा यातायात सम्बन्धी विधेयकमा जथाभावी बाटो काट्नेलाई १ सय रुपैयाँ जरिवाना लगाउने ब्यवस्था गरिएको छ। अघिल्लो वर्षको माघ ८ गते सदनमा पेस भएको विधेयक झण्डै एक वर्षपछि पास हुन लागेको हो।
उक्त विधेयक माघ १४ गतेको संसद बैठकले सामान्य छलफल गरेर विधायन समितिमा पठाईएको थियो। समितिले ९ महिना लगाएर दफावार छलफल गरी सदनमै फर्काएको हो। विधेयकको मस्यौदामा ५ सय रुपैयाँ जरिवाना लिने प्रस्ताव गरिएपनि विधायन समितिमा छलफलपछि १ सय रुपैयाँ जरिवाना तोकिएको हो।प्रदेशभित्र यातायात क्षेत्रलाई ब्यवस्थित गर्नका लागि सरकारले विधेयक तयार गरेको हो।
विधेयकअनुसार छाडा चौपायाका कारण सवारी दुर्घटना भएर कसैको मृत्यु भए चौपायाका धनीसँग १ लाख रुपैयाँसम्म जरिवाना लिने गरी ब्यवस्था गरिएको छ।