News

चिनियाहरुको आर्थिक अपराधको केन्द्र बन्दै नेपाल

कालान्तरमा अर्थतन्त्र धरापमा पर्ने खतरा

चिनियाहरुको आर्थिक अपराधको केन्द्र बन्दै नेपाल

 काठमाडौँ । एटिएम ह्याक करोडौँको लुटपाट, सरकारी सिस्टम ह्याक सबै सूचनाको गोप्यता अवलोकन अनि हुण्डीमार्फत अर्बौँको कारोबार । यस्ता गतिविधि पछिल्ला दिनमा चिनियाहरुको पर्याय बनेका छन् । विश्व अर्थतन्त्रका अमेरीकापछिको खम्बा बनेको चिन नेपाल जस्ता विकासोन्मुख मुलुकका लागि चुनौती पनि थपिँदै गएका छन् । हुन त छिमेकी देशले प्रगति गरेपछि नेपालजस्ता मुलुकका लागि समृद्धिको साधक बन्नुपर्ने हो । तर शनिबारको एटिएम नै ह्याक गरेर करोडौँ लैजान खोजेको प्रयत्न, गत मे मा सरकारी वेभसाइटको ह्याक अनि अर्बौँको हुण्डी कारोबारका कारण नेपालको सुरक्षा र अर्थतन्त्रमा खतरा उत्पन्न हुन थालेको भन्दै विज्ञहरुले चिन्ता जनाएका छन् । कसरी अर्थतन्त्रमा समस्या ल्याउँदैछ त चिन ? 

घटना एक 

तीन दिनका लागि पर्यटक भिषामा शुक्रबार मात्रै नेपाल आएका चिनिया ह्याकर्सले नेपालको बैंकिङ सिष्टमलाई मात्र च’नौती दिएनन् नेपालमा चिनियाहरु के कसरी गलत कार्य गर्दैछन् भन्ने पुष्टि गरेको छ । त्यसो त चिनियाहरुको यस्तो गलत कुकृत्य यस पटकको मात्र होइन यसअघि पनि पटक पटक भएको हो ।

शनिबार ५ चिनिया ह्याकर्सले नेपालको एटिएम ह्याक गरी झिकेको रकमसहित प्रहरीले १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गर्योे । नेपाल राष्ट्र बैंकले चिनियाहरुले १ करोड ६८ लाख झिकेको प्रारम्भिक अनुमान गरेको छ । 

आठ जनाको संख्यामा रहेका चिनियाँ ह्याकरले प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज ब्यांकबाट एक करोड २६ लाख पैसा लिकालेका थिए । प्रभु ब्यांकको दरबारमार्ग शाखाबाट धेरै पटक पैसा निकालेको सूचना राष्ट्र ब्यांकको डाटामा पुगेपछि प्रहरीमा खबर गरिएको थियो ।

शनिबार प्रहरीले नबिल बैंकको एटिएम ह्याक गरी रकम झिक्दै गरेका एकलाई पक्राउ गरेको थियो । लगत्तै अन्य ४ जना पक्राउ परेका थिए भने आइतबार साँझ त्रिभुवन विमानस्थलबाट अर्का एक जना पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् । 

घटना दुई 

नेपालमा चिनिया ह्याकर्स 

नेपालमा चिनियाले ह्याक गरेको यो पहिलोपटक होइन । गत मे ४ देखि ५ मेसम्म नेपालका २ सयभन्दा बढी सरकारी साइट ह्याक भएका थिए । त्यो काम चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सिसिएसआई) का प्राविधिककरुले गरेको समाचार सार्वजनिक भएको थियो ।

यही प्रकरणलाई लिएर सचेत युवाहरुले गत साउन अन्तिममा चिनिया कम्पनी हुवावेविरुद्ध प्रदर्शनमा उत्रिए । सरकारी वेभसाइट ह्याक प्रकरणमा टेलिकम्युनिकेशनमा कार्यरत कम्पनी विरुद्ध किन प्रदर्शन गरे भन्नेबारे नेपाल आजले बुझ्दा सचेत युवाहरुले चिनिया कम्पनी हुवावेको डिजाइनमा सरकारी वेभसाइट ह्याक गरेको जनाएका थिए  ।

किनकी नेपाल सरकारको वेभसाइट ह्याक भएपछि ६ मेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोले नक्सालस्थित सिसिएसआईको कार्यालयमा छापा मार्दा त्यहाँ २५ जना चिनियाँ प्राविधिकहरू काम गरिरहेको अवस्थामा भेटाएको समाचार विभिन्न अनलाईनले सार्वजनिक गरेका थिए ।

प्रहरी पसेपछि उनीहरु ल्यापटप बन्द गर्ने र भाग्ने प्रयत्न गरेका थिए । चिनिया कम्पनी हुवावे स्मार्टफोन, ल्यापटप, राउटर, स्विच, सर्भरजस्ता वस्तु उत्पादन गर्ने कम्पनी हो । छायाँ कम्पनीसँग सरकारी वेभसाइट ह्याकमा संलग्न चिनियाँ कम्पनी हुवावेले सरकारी वेबसाइट ह्याक गर्ने तथा अमेरिकाले प्रतिबन्ध लगाउँदा पनि नेपाल सरकारले फोरजी लगायतका ठेक्का चिनियाँ कम्पनीका सहायक कम्पनीलाई दिएको उनीहरूको आरोप सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे नेपालसहित विश्वका धेरै मुलुकहरुको जासुसी र ती देशको सरकारी वेबसाइटहरू ह्याक गर्दै आएको आरोप लाग्दै आएको छ ।  

भिजिट भिषा

गत शनिबार एटिएम ह्याक गरेका चिनिया ह्याकर्सहरु शुक्रबार भिजिट भिषामा नेपाल आएका थिए । गत शुक्रबार नागरिक अधिकार अभियानमा संलग्न व्यक्तिहरुले हुवावे कम्पनीले भिजिट भिषामा चिनिया ल्याएर काम गराउने गरेको भन्दै छानबिनको माग गरेका थिए ।

सभामा धारणा राख्ने क्रममा भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही र नेपाल अभियानका हरिराम रिमालले भनेका थिए –‘‘ अहिले कामको खोजीमा ८० लाख युवा विदेशिएका छन् । तर अर्बौँका परियोजना ओगट्ने हुवावे र उसका कम्पनीहरुले नेपालमा विदेशी कामदार नै ल्याएका छन् । ’’ 
अभियन्ताहरुकाे यस आरोपबारे नेपाल टेलिकम भने मौन बसेको छ ।

टेलिकमले देशभर फोर जी विस्तार गर्न हुवावेका सहायक कम्पनीले नेपालभर ६५ लाख क्षमताको फोरजी र एलटिई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा -यान नेटवर्क तयार गर्नेगरी गत माघमा टेण्डर लिएका छन् ।

१ वर्षे अवधिको टेण्डर सम्झौतामा मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहनेछ भने कोर नेटवर्कको लागि जेडटिई र रेडियो एक्सेस नेटवर्क (-यान) सिसिएसआईसँग सम्झौता भएको छ । -यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सात वटै प्रदेशमा सेवा विस्तार गर्ने सम्झौतामा उल्लेख छ ।

१ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ कबोल गरेर कोर नेटवर्क विस्तारको जिम्मा जेटटिईले पाएको छ । त्यस्तै चिनियाँ कम्पनी हुवावेको सहायक कम्पनी सीसीएसआई हङकङले रेडियो एक्सेस नेटवर्क (र्या्न)को जिम्मा लिएको छ ।

पहिलो प्याकेजबाट ८ अर्ब ७५ करोड २६ लाख र दोस्रो प्याकेजको ८ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ उसले कबुल गरेको छ । यो पुरै परियोजनाका लागि १८ अर्ब ८० करोड रुपैयाँ करबाहेक टेलिकमले खर्चदैछ । 

घटना तीन 

चिनियाको अवैध हुण्डी कारोबा

नेपालमा सस्तो भनिने चिनिया सामान धेरै कारोबार हुन्छ । दशैंको मुखमा त अधिकांशले कपडा लगायत खरिद गर्छन । चिनियाहरु कपडाको कारोबार हुण्डीमार्फत गर्ने कारण राजश्व दाखिलामा भने न्युन रकम देखिएको छ ।

नाम नबताउने शर्तमा असनका एक व्यापारी भन्छन –‘‘ ८० प्रतिशत रकम हुण्डीमार्फत तिर्छौँ बाँकी चाहिँ लिगल्ली नै हो ।’’ यसमा चिनका व्यापारीहरुको पनि साथ रहेको छ । यस आधारमा मानौँ कुनै सामान १ हजारमा किनियो भने २०० मा किनेको भ्याट बिल बन्छ । अनि ८०० चाहिँ हुण्डीमार्फत रकम पठाइन्छ । अब २०० रुपैयाँको भ्याट बिल अनुसारको रकम व्यापारी तिर्छन । यसो गर्दा रजश्व कम दाखिला गरे भयो । तर त्यही सामान व्यापारीले अब १००० माथि जति रकममा पनि बेच्न सक्छन् ।

हुण्डीमार्फत हुने कारोबारबारे गतवर्ष प्रहरीले ७ ठूला व्यापारी पक्राउ गरेको थियो । उनीहरुबाट अनुसन्धानमा प्रहरीले ह्वाट्स एप र वी च्याटमार्फत हुण्डीको कारोबार गर्ने गरेको पाइएको जनाएको थियो । ठमेल महाबौद्धमा हुण्डीको कारोबार फष्टाएको सरकारी अधिकारी स्वीकार्छन । यसबारे नेपाल प्रहरी पनि जानकार छ । अवैध हुण्डीमा चिनियाहरु बढी नै संलग्न छन् ।

ठमेल, महाबौद्ध लगायतका क्षेत्रबाट दैनिक अर्बौको हुण्डी यस्तै सामाजिक सञ्जाल प्रयोग गरेर हुँदै आएको छ । चाइना टाउन लगायतका क्षेत्रमा चिनिया नागरिककै लगानीमा होटेल र रेष्टुरेण्ट सञ्चालनमा रहेको र ती होटेल रेष्टुरेण्ट खाए बसेको भुक्तानी क्यु आर कोडमार्फत हुने गरेको छ

चीनबाट आउने पर्यटकले होटल बस्दा समेत विच्याटबाट भूक्तानी गर्ने र पैसा उतै राख्नेसम्मको प्रवृत्ति देखिएको छ । नेपालमा होटल रेष्टुराँ संचालन गरेका चिनियाँ व्यापारीले चीनबाट सम्झौतामा पर्यटक ल्याउने र आफुहरुको होटलमा खाना खाएको तथा बसेको बील नेपालमा नभई चीनमा रहेको आफ्नो खातामा भुक्तानी गर्न लगाउने गरेका छन् ।

चीनबाट आउने पर्यटकले नेपालमा नगद भुक्तानी नगर्ने एक व्यापारीले बताए । ‘उनीहरुले सामान खरिद गरे वा खाना खाए भने क्युआर (क्वीक रेस्पोन्स) कोडमार्फत वीच्याटमार्फत भुक्तानी गर्छन,’ उनले भने, ‘जसको कारोबार नेपालमा नभई चीनको एक बैंकबाट अर्को बैंकमा हुन्छ ।’

चिनियाँ पर्यटकले वीच्याटमार्फत भुक्तानी गर्दा नेपाली व्यवसायीहरु समस्यामा पर्नुका साथै राज्यले समेत ठूलो मात्रामा राजस्व गुमाइरहेको ती व्यापारीको भनाइ छ किनकी वीच्याटमार्फत भुक्तानी गर्दा उनीहरुको नेपालमा कारोबार नदेखिने हुँदा त्यस्ता व्यापारीले नेपाल सरकारलाई कर तिर्दैनन् ।

उनीहरुले नेपालमा कर्मचारीलाई तलब दिन वा सामान खरिद गर्न चीनबाट सामान आयात गर्ने व्यापारीसँग पैसा लिने र उनीहरुलाई चीनबाटै भुक्तानी दिने हुँदा त्यस्तो कुनै पनि कारोबार नेपालमा देखिँदैन ।

जसले गर्दा चिनियाँ व्यापारीले नेपालमा गरेको कारोबार तथा नेपाली व्यापारीले चीनबाट सामान आयात गर्दा समेत ठूलो मात्रामा कर छली हुँदै आएको छ । कालान्तरमा यसले राष्ट्रिय अर्थतन्त्रमा नै समस्या ल्याउने अर्थविद्हरुको भनाइ छ । 


 

विशेष