अमेरिकाले अफगानिस्तानबाट ५ हजार ४ सय सेना फिर्ता लैजाने
बीबीसी । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको ’सैद्धान्तिक सहमति’को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन् ।
अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन् ।
तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए ।
उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ । तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ ।
विस्फोटमा कम्तीमा पाँचजना सर्वसाधारण मारिएका छन् भने कैयौँ घाइते भएका छन्। अफगान फौजलाई लक्षित गरी आक्रमण गरेको तालिबानले जनाएको छ ।
विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरलाई बमले निशाना बनाएको थियो र तालिबानले त्यसमा बन्दुकधारीहरू संलग्न रहेको जनाएको छ ।
आक्रमणले तालिबानसँगको अमेरिकी वार्ताहरूबाट अफगानिस्तानको दैनिक हिंसा अन्त्य नहुने र सर्वसाधारणमाथि पर्ने असरलाई सङ्केत गरेको छ ।
बीबीसी संवाददाता लीज डुसेट भन्छिन,‘अफगान तालिबान र संयुक्त राज्य अमेरिकाबीचको एउटा निकै महत्त्वपूर्ण र संवेदनशील सहमतिका विवरण सार्वजनिक भएको यो पहिलो पटक हो। यो सहमतिले अमेरिका संलग्न सबैभन्दा लामो युद्ध अन्त्य गराउन र अफगानिस्तानलाई शान्तितर्फ र्डोयाउन खोजेको छ ।’
सन् २००१ मा अमेरिकाले अतिक्रमण गरेयताकै सबैभन्दा ठूलो भूभागमाथि अहिले तालिबानको नियन्त्रण छ ।
अमेरिकी कठपुतलीको रूपमा व्याख्या गर्दै आएको अफगान सरकारसँग वार्ता गर्न तालिबानले हालसम्म अस्वीकार गर्दै आएको छ ।
तालिबान–अमेरिका सहमतिका रणनीतिकार खलिलजादले खाडी मुलुक कतारमा भएका नौ चरणका शान्ति वार्तापछि निष्कर्षमा पुगिएको टोलो न्यूजसँगको अन्तर्वार्तामा बताए ।
पुष्टि
सैनिक फिर्तीको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अब कहिल्यै अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ ।
खलिलजादले भने, यदि सहमति अनुसार शर्तहरूको पालना गरिए हामी पाँचवटा अखडाबाट १३५ दिनभित्र फिर्ता हुनेछौं ।
अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन् ।
तालिबान समूहका प्रवक्ताले बीबीसीसँगको लिखित कुराकानीमा खलिलजादले सार्वजनिक गरेका विवरण सत्य भएको पुष्टि गरेका छन् । अफगान राष्ट्रपति अशरफ गनीले कुनै धारणा बनाउनुअघि सम्झौताको अध्ययन गर्ने उनका एक प्रवक्ताले सोमवार बताएका थिए । तालिबान शान्तिप्रति प्रतिबद्ध रहेको कुराको प्रमाण अझै आवश्यक भएको उनले बताए ।