News

एउटै रूखले अड्कियो वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण

एउटै रूखले अड्कियो वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण

बारा । वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ ।
एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो ।

त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत फागुनबाट सो व्यापारिक मार्गको निर्माण कार्य अवरुद्ध भएको हो ।

उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भने, “वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको हो ।” 

टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)ले रूखहरूको टाँचा लगाउने बेलामा सो रूखलाई छुटाएको थियो । यसरी कर्पोरेसनले टाँचा लगाउन छुटाएपछि पर्सा राष्ट्रिय निकुञ्जले सो रूख अहिलेसम्म काट्न दिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट कार्यादेश नआएसम्म सो रूखमा टाँचा लगाई काट्न नमिल्ने स्पष्ट पार्दै प्रमुख संरक्षण अधिकृत साहले सोको लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

गत फागुनमा पेट्रोलियम पाइप बिछ्याउने क्रममा नौ किलोमिटर सडक खण्डको २५ मिटर क्षेत्रमा परेका रूख काटिए पनि पथलैयादेखि एक किलोमिटर दक्षिणमा रहेको सो रूख काट्न नसकिएको हो । गत आर्थिक वर्षमा उक्त व्यापारिक मार्गमा परेका छ हजार पाँच सय रूख काटिएको थियो । साढे छ हजार रूखमा टाँचा लगाई काट्दा एउटा रूख कसरी छुट्न गएको हो भन्ने कुरा अहिले रहस्य बनेको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

वीरगञ्ज–पथलैया व्यापारिक मार्ग

विशेष