News

छैठौंपटक प्रधानमन्त्रीको प्लाज्माफेरेसिस

छैठौंपटक प्रधानमन्त्रीको प्लाज्माफेरेसिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारक्रममा सोमबार नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ। १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया सुरु भएको हो ।

सिंगापुरबाट प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्घीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ । यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए।

‘प्लाज्माफेरेसिस गरेपछि एन्टिबडी स्तर आदि हेर्ने भएकाले उहाँ शनिबार फर्कने कुरा भएको छ,’ ती चिकित्सकका अनुसार यसअघिको सिंगापुर उपचारपछि स्वदेश फर्किंदासमेत केही साइड इफेक्ट देखिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहले प्रधानमन्त्रीको शरीरमा देखिएको केही बढी मात्रामा मिर्गौलासम्बन्धी एन्टिबडीलाई निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) लाई निरन्तरता दिन पुनः दोस्रोपटक सिंगापुर लगिएको जनाएकी थिइन्।

उनको शरीरमा कामलायकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि यो उपचार प्रक्रिया अपनाइएको हो । यसअघि सन् २०१४ मा प्रधानमन्त्रीको हातमा फरक प्रकारको कडा संक्रमण भएपछि र दुई वर्ष अघिसमेत यो एन्टिबडी हेरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार त्यसयताका ‘डोनर स्पेसिफिक एन्टिबडी’ नदेखिएकाले यो उपचार प्रक्रिया अपनाइएको थिएन।

‘यसपटक दाता विशिष्ट एन्टिबडी देखिएकाले प्लाज्माफेरेसिस गरिएको हो,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘यसलाई समयमै शरीरबाट बाहिर निकाल्दा राम्रो हुने आधुनिक चिकित्सा विज्ञानको मान्यता छ ।’ यो कान्तिपुर दैनिकबाट लिइएको हो ।  

केपी शर्मा ओली प्लाज्माफेरेसिस

विशेष