News

कांग्रेसले सरकारविरुद्ध आन्दोलन थाल्ने 

कांग्रेसले सरकारविरुद्ध आन्दोलन थाल्ने 

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । राजनीतिक प्रस्तावमा उसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार भएको पत्रकार सम्मेलनमा कांगे्रस सह–महामन्त्री प्रकाशशरण महतले कांग्रेसले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

‘संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं’  उनले बताए । कांग्रेसले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।

साथै कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्ने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो । 

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा निर्णय गरेको छ । 

विशेष