News

मिटरब्याजका नाइके प्रदेशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

मिटरब्याजका नाइके प्रदेशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं : मिटरब्याजको धन्दा चलाएको र ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाहीका श्याम प्रदेशीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुमतिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रदेशीको सम्पत्ति विवरण खोज्न थालेको हो । प्रहरीले प्रदेशी र उनको परिवारका सदस्यको नाममा रहेको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकमार्फत पत्राचार गरेको छ भने उनको जग्गा बेचबिखन रोक्न मालपोत कार्यालयमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले विभागले अनुमति दिएपछि अनुसन्धान थालिएको बताए । उनले प्रदेशीको नाममा रहेको चल–अचल सम्पत्ति र त्यसको स्रोतबारे विस्तृत अनुसन्धान गरेर विभागलाई प्रतिवेदन बुझाइने बताए । प्रदेशीले विपन्न, निरक्षर र दलित समुदायका व्यक्तिलाई ऋण दिएर दोब्बर–तेब्बर रकमको कागजमा ल्याप्चे लगाउन लगाएको प्रमाण भेटिएको छ । कान्तिपुरले फेला पारेको कागजमा श्यामले १ सय ९९ जनालाई यसरी ऋण दिएको देखिन्छ ।

परिस्थितिको फाइदा उठाउँदै ऋण दिएबापत २० देखि २५ प्रतिशत कमिसन लिने, ३६ प्रतिशतभन्दा धेरै चक्रीय ब्याजमा ऋण लगाउने, समयमै ब्याज नतिर्नेलाई दैनिक एक हजारसम्म हर्जाना तिराउने र फर्जी कागजका आधारमा अदालतमा मुद्दा हाल्ने उनको शैली देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेशीले आफ्नो र परिवारका विभिन्न सदस्यको नाममा जिल्ला अदालत सर्लाहीमा हालेको मुद्दामध्ये ३९ वटामा उनको पक्षमा फैसला भइसकेको छ । जिप्रका सर्लाहीका अनुसार मंगलबारसम्म एकजना पीडितले मात्रै प्रहरीमा ठगी मुद्दा दर्ता गरेका छन् । अन्य पीडितले सामूहिक निवेदन दर्ता गर्ने प्रक्रिया थालेको उनले जानकारी दिए । यो खबर आजको कान्तिपुरबाट लिइएको हो।

श्याम प्रदेशी

विशेष