News

तस्करको नयाँ तरिकाः ग्यास सिलिन्डरभित्र राखेर लागूऔषध ओसारपसार

तस्करको नयाँ तरिकाः ग्यास सिलिन्डरभित्र राखेर लागूऔषध ओसारपसार

राजविराज । तस्करहरुले ग्यासको सिलिन्डरमा लागूऔषध भारतबाट नेपाल भित्र्याउने गरेको पाइएको छ । सिलिन्डरको पिँध काटेर त्यसमा ताल्चा लगाईभित्र लागूऔषध राखेर भारतबाट नेपाल भित्र्याउने गरेको पाइएको हो ।

सोमबार साँझ राजविराज नगरपालिका १६ बागेश्वरी मन्दिर अगाडी प्रहरीले स १० प १३ नम्बरको मोटरसाइकलमा राजविराजतर्फ ग्यास भराउन लागि आउँदै गर्दा सिलिन्डर चेकजाँच गर्दा पिँध काटेर ताल्चा लगाई सिलिन्डरभित्र लागूऔषध डाइलेक्स डिसी १ सय ४० बोतल बरामद गरिएको डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। घटनामा संलग्नराजगढ गाउँपालिका–६ का अशोक यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध कारोबारीका लागि ट्रन्जिट प्वाइन्ट रहेको सप्तरीका विभिन्न नाकाबाट दैनिक ठूलो परिमाणमा लागूऔषध भित्रिदै आएको छ। तर पछिल्लो पटक ग्यास सिलिन्डरभित्र नै राखेर लागूऔषध राखेर भित्र्याएको भने नौलो हो। ग्यास सिलिन्डर हेर्दा समान्यतया ग्यास भराउन लग्दै गरेको भन्दै कसैले शंका वा चेकजाँच पनि नगर्ने सोचेर कारोबारीहरुले नयाँ विधि अपनाएका हुन्।

सप्तरी जिल्लामा ५१ किलोमिटर भारतसित जोडिएको खुला सिमाना छ। सिमा नाकामा नेपाल र सशस्त्र गरी दुवै प्रहरीको इकाईहरु छन्। तर कारोबारीहरु भने सिमा नाकामा कमै पक्राउ पर्ने गरेका छन्। सिमा नाका भन्दा १० किलोमिटर उत्तर आएर सदरमुकाम आसपासका क्षेत्रमा मात्र कारोबारी पक्राउ पर्ने गरेका कारण सिमा क्षेत्रका प्रहरीमाथि पनि शंका उब्जाएको छ।

०७५ साउनदेखि ०७६ असारसम्म सप्तरी प्रहरीले भारतबाट लागूऔषध भित्र्याउँदै गरेका ८१ जनालाई सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ। तर प्रहरी अझै पनि मूल कारोबारीसम्म पुग्न सकेको छ।

प्रहरीले विभिन्न समयमा पक्राउ गरेका मध्ये अधिकांस प्रयोगकर्ता र भरिया मात्र छन्। मूल कारोबारी सम्म प्रहरीको अनुसन्धान पुग्न सकेको छैन्। जसका कारण नयाँ नयाँ भारिया खोजेर कारोबारीहरुले लागूऔषध नेपाल भित्र्याउने गरेका छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 
 

लागूऔषध तस्कर ग्यास सिलिन्डर

विशेष