रसुवामा प्रहरीको ज्यादती, चालकमाथि निर्घात कुटपिट

रसुवामा प्रहरीको ज्यादती, चालकमाथि निर्घात कुटपिट

रसुवाः चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्रहरीको ज्यादती बढेको छ । पछिल्लोसमय नाकामा चहलपहल बढेसँगै विभिन्न बाहानामा प्रहरीको ज्यादती बढेको हो । मंगलबार साँझ करिब साढे चार बजे रसुवागढी नाकाभन्दा चार किलोमिटर वर टिमुरेमा दुईजना प्रहरीले सवारीचालकमाथि कुटपिट गरेका छन् । 

दुई प्रहरीले जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका श्रीमान् तामाङलाई सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् । कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

चालक तामाङ ना.६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन् । चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोगअन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारीसाधनको ट्राफिक जाम हटाउन गएका प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुव्र्यवहार गरेको चालकले बताएका छन् । कुटपिटपछि प्रहरीले चालकलाई हिरासतमा लिएको छ । 

सीमा प्रहरीका प्रमुख परिवर्तन भएपछि ज्यादती बढेको गुनासो चालकले गरेका छन् । प्रहरीले भने चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउन आग्रह गर्दा चालकले असइमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको दाबी गरेको छ । 

दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रहरीले विज्ञप्ति नै निकालेको छ । घटनाबारे छानबिन गरी दोसीमाथि कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाबारे छानबिन गरी दोषीउपर कारबाही गरिनेछ ।’ कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । यता, सवारीचालकहरूले कुटपिटको विरोधमा बुधबार रसुवा बन्दको आह्वान गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रसुवा

संम्बधित खबर

विशेष