News

यो घटनामा प्रहरीले स्वीकार्‍यो गल्ति, दुई प्रहरीमाथि छानविन हुने 

यो घटनामा प्रहरीले स्वीकार्‍यो गल्ति, दुई प्रहरीमाथि छानविन हुने 

काठामाडौं । गलत पार्किङका कारण सडक जाम गरेको भन्दै रसुवाको टिमुरेमा मंगलबार एक सवारी चालकलाई कुटपिट गर्ने दुई प्रहरीमाथि छानविन हुने भएको छ ।

रसुवाका डिएसपी भागिन्द्रपुरुष ढकालले आशिष तामाङ नाम गरेका चालकलाई नियन्त्रण लिने क्रममा प्रहरीले कमजोरी गरेको बताए । नेपालआजसँग कुरा गर्दै डिएसपी ढकालले भने, ‘सडक जाम गरेपछि उनलाई नियन्त्रणमा लिनु अस्वभाविक थिएन । तर नियन्त्रणमा लिने तरिका मिलेन । पटक पटक लात्तीले हिर्काएको देखिन्छ ।’

डिएसपी ढकालका अनुसार नियन्त्रणमा लिइने व्यक्तिलाई एकै प्रयासमा भुईँमा लडाएर पछाडिबाट हतकडी लगाउनु पर्ने हुन्छ । तर सो सडकमा प्रहरीले त्यस्तो गरेनन् ।

चालक कुटपिटको मामिलामा गल्तिको सुरुवात भने चालकबाटै भएको ढकालले दावी गरे । उनले भने, ‘गाडी हटाउन भन्दा नहटाएको, प्रहरीमाथि हात उठाएका कारण यस्तो घटना भएको हो ।’

यस विषयमा प्रहरीले छानविन थालेको उनले जानकारी दिए । छानविन भइरहेका भन्दै ती दुई प्रहरीको नाम भने उनले खुलाउन चाहेनन् । 
प्रहरीले चालक कुटेको भिडियो फुटेज सार्वजनिक भएपछि मानिसहरुले प्रहरीको चर्को आलोचना गरिरहेका छन् । 
 

विशेष