चालकमाथि कुटपिटको भिडियो भाइरल
काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ । मंगलबार साँझ साढे चार बजे रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको हो ।
नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङका श्रीमान तामाङलाई बिच सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । चालक तामाङ ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन् ।
चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोग अन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारी साधनको ट्राफिक जाम हटाउन प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुव्र्यवहार गरेको चालकहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ ।
सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तिमा घटनाबारे छानबिन गरि दोषी उपर कारवाही गरिने भनिएको छ भने कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । प्रहरीले चालक तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ । सवारी चालकमाथि कुटपिट गरेको भन्दै आज कन्टेनर चालकहरुले रसुवा बन्दको आह्वान गरेका छन् ।
प्रहरीले ज्यादती गरेको विरोधमा गए राति नै चालकले टिमुरेमा जुलुस प्रर्दशन गरेका थिए ।