News

गौहत्या प्रकरण : रातारात बनाइयो नक्कली पत्र

गौहत्या प्रकरण : रातारात बनाइयो नक्कली पत्र

सुर्खेत : दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो। टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन्।

घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन्। जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ। पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ। जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।

भदौ ६ गते मात्र जिससको बैठक बसेको थियो। उक्त बैठक र त्यसअघिका कुनै पनि बैठकमा नेपालगन्जबाट गाई मगाउनेबारे कुनै छलफल, प्रस्ताव र निर्णय नभएको जिसस सदस्य ललित माझीले बताए। उनले भने, ‘जिससको बैठकमा गाई ल्याउने एजेण्डामा छलफल भएकै थिएन्, तर एक्कासी गाई मगाएको भन्ने पत्र सार्वजनिक भयो। खै हाम्रा प्रमुखले के गर्नुभएको हो, हामीलाई त थाहा छैन्।’

गाई मगाइएकोबारे जिससका कर्मचारी पनि अनविज्ञ छन्। निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे अनविज्ञता प्रकट गरे। कर्मचारीलाईसमेत जानकारी नहुनुले पनि गाई मगाइएको पत्र रातारात तयार पारेको भन्ने स्थानीयको आरोपलाई पुष्टी गरेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

गौहत्या

विशेष