आर्थिक समृद्धिको बाटोमा नलागे गणतन्त्र धरापमा
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको बाटो समात्न नसके मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने बताएका छन् ।
नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताए ।
दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणका लागि नीति र कानुन निर्माण गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए । प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने उनको भनाइ छ ।
उनले भने –“यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।” नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपिल गरे ।
साधारण सभाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।