News

अब नेपाल टेलिकमको रोमिङमा हुँदा भ्वाइस, एसएमएसका साथै डाटा पनि

अब नेपाल टेलिकमको रोमिङमा हुँदा भ्वाइस, एसएमएसका साथै डाटा पनि

काठमाडौं : नेपाल टेलिकमले आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ। बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ।

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान/प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारदेखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुनेछ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो। अब नेपाल टेलिकमका ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्ने छन्।

बिहीबारसम्म अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ। उक्त मितिपश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ। 

जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन्। निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने छ।  यो सेवासम्बन्धी अन्य जानकारीका लागि कम्पनीको वेबसाइटमा पनि हेर्न सकिनेछ।

नेपाल टेलिकम

विशेष