राष्ट्रपतिबाट नेपाल विद्याभूषण विद्यापदक प्रदान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभुषण क,ख,ग र नेपाल छात्रा विद्यापदक तथा प्रमाणपत्रद्धारा विभिन्न विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा विद्याभुषण विद्याबारिधितर्फ २ सय ३१ जना, स्नातकोत्तरतर्फ १ सय १ जना स्नातक तहतर्फ ११ जना र नेपाल छात्रा विद्यापदकतर्फ २३ जना तथा कक्षा १२ बाट ७ जनालाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा प्राज्ञिक जनशक्तिको आवश्यकता पुरा गर्न सम्मानित व्यक्तित्वहरुको भुमिका अहम् रहने बताउनुभयो । उहाँले मुलुकको समृद्धि र विकासमा शिक्षाको भुमिका महत्वपुर्ण हुने भन्नुहुदै दक्ष जनशक्ति उत्पादनमा सबै प्राज्ञिक व्यक्ति तथा शैक्षिक संंस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले ज्ञान र सीपको सही सदुपयोग हुन सकेमा सरकारको सुखी नेपाली, समृद्ध नेपालको संकल्प पुरा गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको विकास विना कुनैपनि प्रकारको विकास सम्भव नभएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न वर्तमान सरकार सक्रिय रहेको बताउनुभयो । पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिनुभयाे ।
सन् १९६५ मा युनेस्कोले प्रत्येक बर्ष सेप्टेम्बर ८ का दिन साक्षरता दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन सुरु गरिएको हो ।