News

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित

काठमाडौं । तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउँदैछन्। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ।

सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौंमा रहनेछन्।

राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो।

सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ।

‘हामीले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वबाट भ्रमणको प्रतीक्षा गरेका छौं, चीनजस्तो घनिष्ठ मित्र र त्यहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हुनेछ’ –उनले भने।

चिनियाँ राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

वाङ भ्रमण वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो। पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ।

चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आएका थिए। यसपटकको उनको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता सोमबार हुनेछ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यी

विशेष