News

जयबागेश्वरी मन्दिरमा अर्को मन्दिर भेटियो

जयबागेश्वरी मन्दिरमा अर्को मन्दिर भेटियो

काठमाडौं : पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भत्काउँदा अर्को मन्दिर भेटिएको छ । जयबागेश्वरीको तीन तलामध्ये माथिल्लो भत्काउँदा अर्को मन्दिर भेटिएको हो । मन्दिरको बीचमा तीनवटा गजुर भेटिएका छन् । 

‘मन्दिरभित्र अर्को मन्दिर भेटियो,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘अब यो के गर्ने, कसरी बनाउने भनेर छलफल अघि बढेको छ ।’ मन्दिर इँटा र माटोले बनेको भेटिएको छ । बाहिरी मन्दिर पनि इँटा र माटोले नै बनेको छ । पशुपति क्षेत्र विकास कोषले माटोको यो मौलिकता मासेर चुना सुर्की प्रयोग गरेर बनाउन लागेको छ ।

मन्दिर बनाउने जिम्मा पाएको तुलसी कन्ट्रक्सनसँगले नै मन्दिर भत्काउन सुरु गरेको थियो । ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बीचमा मन्दिर भेटिएपछि यसबारे थप अनुसन्धान गर्नुपर्ने माग उठेको छ । सतिप्रथा हुँदा यहाँ गहना चढाएर सति जाने चलन थियो । त्यही भएर यहाँभित्र गहनासमेत हुन सक्ने भण्डारीको अनुमान छ । ‘जयबागेश्वरी धनी मन्दिर भनेर समेत चिनिन्छ,’ भण्डारी भन्छन्, ‘यहाँ ढुकुटी पनि हुन सक्छ । यसलाई अनुसन्धान गरेर मात्र नयाँ मन्दिर बनाउनुपर्छ ।’

लिच्छविकालीन मानिन्छ जयबागेश्वरी । यसको पादपीठमा लिच्छविकालीन भएको प्रमाण फेला परेको छ । माथिल्लो भागमा भने हरेक १२ वर्षमा कलेबर फेर्ने चलन छ । यो बेला मूर्तिदेखि मन्दिरका बाहिर भाग रंगरोगन गर्न, बुट्टा फेर्नेलगायतका काम गरिन्छ । पशुपति क्षेत्रको भण्डारखाल छेउकै नवाली टोलमा पर्छ जयबागेश्वरी ।

पशुपति क्षेत्रका ९ वटा टोलमध्ये एउटा हो नवाली । पशुपति क्षेत्र ९ वटा ग्रह संयोजन मिलेर बनेको छ । पशुपति क्षेत्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चउर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

जयबागेश्वरी मन्दिर

विशेष