News

केन्द्रका लागि ५ हजार रिक्त दरबन्दीमा भर्ना खुल्दै

केन्द्रका लागि ५ हजार रिक्त दरबन्दीमा भर्ना खुल्दै

काठमाडौं ।  स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने भएको हो। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ। एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी गराए। ‘अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछि एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं।’

संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो। आयोगका प्रवक्ता किरण शर्माले संघीय मन्त्रालयबाट सहसचिव र उपसचिवका लागि माग भएको बताए। नियमित कार्यतालिकाअनुसार असोजको तेस्रो साता विज्ञापन गरिने उनले बताए। उनले भने, ‘संघीय मन्त्रालयबाट आएको माग हामीले आयोगको बैठकमा पठाएका छौं। बैठकले निर्णय गरेपछि आयोगको नियमित प्रक्रियाअन्तर्गत असोज तेस्रो हप्तामा विज्ञापन निकाल्छौं।’ अन्य पदमा संघीयबाट माग आएमा आयोगले भर्ना प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो।

मन्त्रालय स्रोतका अनुसार सहसचिव र उपसचिव पदका लागि करिब ३ सय रिक्त दरबन्दीमा माग भएको छ। मन्त्रालयले अब पठाउने मागमा प्रशासन, लेखा, इञ्जिनियरिङ, परराष्ट्रलगायतका सेवा हुनेछन्। यी पदमा खरिदारदेखि सहसचिवसम्मका हुनेछन्। स्रोतका अनुसार विशेषगरी तल्लो तहका पद खरिदार र नायव सुब्बा तहका पदमा अरू पदको तुलनामा बढी दरबन्दी रिक्त छन्।

मन्त्रालयले तीन तहका सरकारका लागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको बताएको छ। मन्त्रालयका अनुसार संघमा स्वीकृत भएको ४८ हजार ४ सय ९ दरबन्दीमा ३९ हजार ९ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ। आयोगले गत असारदेखि स्थानीय तहका लागि करिब ९ हजार रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। आगामी दुई महिनाभित्रै रिक्त रहेका स्थानीय तहमा नयाँ कर्मचारी सिफारिस गर्ने तयारी भएको आयोगले जनाएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

कर्मचारी भर्ना रिक्त दरबन्दी

विशेष