काबुल विष्फोटमा मारिने नेपालीको शव ल्याउन प्रचण्डको निर्देशन
काठमाडौँ । अफगानिस्तानको कावुलमा सोमबार भएको बम विस्फोटमा मृत्यु भएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पहल सुरु गरेका छन् ।
अध्यक्ष दाहालले आज परराष्ट्र मन्त्रालय र अफगानिस्तानको समेत जिम्मेवारी पाएको भारतस्थित नेपाली दूतावासमा फोन गरेर शव ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । विस्फोटमा मृत्यु भएका थापा दाहालकै निर्वाचन क्षेत्र भरतपुर उपमहानगरपालिका वडा नम्बर २१ का बासिन्दा हुन् ।
परराष्ट्र मन्त्रालयले पनि प्रक्रिया अघि बढेकाले सोमबार साँझसम्म शव नेपाल आइपुग्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिएको छ । मृतकका परिवारले पाउने क्षतिपूर्तिका विषयमा पनि छलफल भइरहेको बताइएको छ । गत सोमाबार तालिवान विद्रोहीले गराएको विस्फोटमा दुई नेपाली सहित १२ जनाको मृत्यु भएको थियो ।