News

दानको रकमले 'पजेरो गाडी'

दानको रकमले 'पजेरो गाडी'

लुम्बिनी। टिकट बिक्री, श्रद्धालुले गर्ने दान र चन्दा लुम्बिनी विकास कोषका मुख्य आम्दानी हुन् । उपासक, तीर्थालु र पर्यटकले दान नगरे कोषको प्रशासनिक काम ठप्प हुन्छ ।

कर्मचारीले तलबभत्ता पाउँदैनन् तर कोषले यसरी संकलित रकमबाट उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका लागि पजेरो गाडी खरिद गर्न लागेको छ । जापानमा निर्मित गाडीको मूल्य १ करोड ५८ लाख रुपैयाँ पर्ने बताइएको छ ।कोषले गाडी खरिदका लागि गत मंसिर १५ गते पत्रिकामा ‘ई–बिडिङ’ का लागि सूचना प्रकाशन गरेको थियो । सूचनामा १ करोड ५८ लाख मूल्य रहेको जापानको मित्सुबिसी ‘पजेरो स्पट’ गाडी चाहिएको उल्लेख छ ।

सूचना प्रकाशन भएको ३० औं दिनमा निओन मोटर प्रालि काठमाडौंले कोषले उल्लेख गरेको भन्दा २ रुपैयाँ कममा प्रस्ताव पेस गरेको छ । अहिलेसम्म एउटामात्र कम्पनीले फारम भरेको हो । उक्त गाडी बजारमा आएको एक महिना पनि भएको छैन । २४७७ सीसीको पजेरो वातानुकूलित, अत्याधुनिक प्रविधि र सुविधायुक्त रहेको वेबसाइटमा उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन। 

 

पजेरो दान रकम

विशेष