इरान विमान दुर्घटनाः क्षेप्यास्त्र प्रहारबाट विमान खसेको ट्रुडोको विश्वास
बीबीसीः अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन् ।
उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका हुन् । इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ–७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो । इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् ।
बीबीसी संवाददाता पल एड्म्स भन्छन्, इरानी अधिकारीहरूले हास्यास्पद भन्दै पछिल्लो रिपोर्टलाई अस्वीकार गरेका छन् । त्यसलाई उनीहरूले अमेरिकी मनोवैज्ञानिक कारबाहीको एउटा हिस्सा भनेका छन् । उनले उक्त विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरे। विमान निर्माता कम्पनी बोइङलाई पनि त्यसै गर्न उनले आह्वान गरे ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ ।
सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू–उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए ।
इरानका एक सैन्य जेनेरल कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको छ । तर इरानका विदेशमन्त्रीले चाहिँ बोइङलाई अनुसन्धानमा सहभागी हुन निम्ता दिएका छन् ।
अन्तर्राष्ट्रिय हवाई नियम अनुसार इरानलाई उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने अधिकार रहन्छ । तर त्यसमा जहाज उत्पादक पनि सामेल हुनुपर्नेछ । विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट उक्त विमानमा प्रहार भएका सङ्केतहरू पाइएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् ।
दुर्घटना इरान विमान दुर्घटना