स्वस्थानी व्रतकथाको महत्व, व्रतविधि र आराधनासहित
काठमाडौँ । प्रत्येक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने श्रीस्वस्थानीको व्रतकथा सम्पूर्ण नेपालीहरुको विशेषता भएको कथा हो । जाडो याममा चल्ने नेपालीहरूको लागि धार्मिक आस्थाको केन्द्रविन्दु मानिने अति लोकप्रिय र आस्थाको अटुट श्रोत हो स्वस्थानी व्रतकथा ।
भगवान शिव र माता पार्वतीका पुत्र स्कन्दकुमारले अगस्त्य मुनिलाई बताउनुभएको श्रीस्कन्द पुराणको केदार खण्ड अन्तर्गतमा पर्ने माघ माहात्म्यको कथा स्वस्थानी व्रतकथामा आउँछ। स्कन्दकुमार र अगस्त्य मुनि बीचको सम्वादको संगालोको रुपमा रहेको श्रीस्वस्थानी व्रतकथा धेरै जसो रातको समयमा सुनाउने र सुन्ने परम्परा रहिआएको छ । एक महिनाको लामो समयसम्म अटुट व्रत बस्ने अत्याधिक श्रद्धापूर्वक गरिदै आएको श्रीस्वस्थानी व्रतकथा नेपालीहरुको आफ्नै मौलिक धर्म ग्रन्थ हो ।
के गर्नुपर्छ व्रत बस्न ?
स्वस्थानी व्रतकथा पौषशुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ । व्रतालुलेअघिल्लो दिन अर्थात पौषशुक्ल चतुर्दशीमा हात गोडाका नङ काटी आफ्नो शरीर सफा राखि पौषशुक्ल पूर्णिमाका दिन प्रात नदी , नाला, तलाउ , पोखरी वा कुवामा स्नान गरि शुद्ध भई भक्तिभावका साथ दीप कलश र गणेश पूजन पश्चात् भगवान शिव सहित श्रीस्वस्थानी भगवतीको स्थापना गरी सङ्कल्प पूर्वक वैदिक विधि अनुसार व्रत आरम्भ गरि पूजा अर्चना गर्नुपर्छ । एक महिनासम्म मध्यान्हको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा÷आराधना गरि नित्य मध्यान्हमा अर्घ दिने परम्परा रहेको छ ।
व्रतालुहरूले पूजा÷आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्दछन् । व्रत अवधिभरि चोखोनितो गरी एकछाक मात्र भोजन गर्ने गर्दछन्। स्वस्थानीको व्रत बस्नाले अखण्ड सौभाग्य मिल्ने, उत्तम गति , ऐश्वर्य , सुख, शान्ति , समृद्धि मिल्नुका साथै भगवानको कृपा बनी राख्छ भन्ने विश्वास गरिन्छ , हिन्दू सनातन धर्मको आस्था हो स्वस्थानी व्रतकथा । अन्य विधिहरु श्री स्वस्थानी महात्म्यमैँ वर्णन गरिएको छ ।
किन बस्ने व्रत
कुनै पनि कुराको संकल्प गर्नु व्रत हो । यसलाई प्रतिज्ञाको रुपमा पनि लिन सकिन्छ , ईश्वरको आराधना वा भक्ति गर्नुलाई पनि व्रत भनिन्छ । व्रतलाई एउटा यज्ञको रुपमा पनि लिने गरिन्छ , व्रत भनेको नियममा रहनु नियममा बाँधिनु हो ।
व्रतलिदा व्रतालुहरुले रिस नगर्नु , चोरी नगर्नु , काम , क्रोध , लोभ , मोह , रागद्वेष लाई त्याग्नु , क्षमा, सत्यवचन, दान, दया, उपकार,शौच, पवित्र , सन्तोष आदिको भावना हुनु र इन्द्रियलाई संयम राख्नु पर्छ भन्ने धारणा हो तब मात्र व्रत लिएको सार्थक हुन्छ ।
व्रत पश्चात् पनि व्रतमा आफूले धारणा गरेका कुराहरु जीवनमा उतार्न सक्नुपर्छ ।
तबमात्र इच्छित फल प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । व्रतको उद्देश्य भनेको हृदयमा सदा पवित्रता बनाईराख्नु हो । जसले मानव जीवनलाई सही मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गर्दछ ।
स्वस्थानी व्रतकथाको सन्देश
स्वस्थानी व्रतको मुख्य विषय भनेको मनुष्यलाई परमात्माको साथ एकात्मभाव स्थापना गर्नु हो । स्व भनेको मेरो हो , स्थान, भनेको ठाउँ जग्गा हो , अर्थात् मेरो असली ठाउँ, म कहाँ बाट आएकोे ? , म कोहुँ ? मेरो जाने स्थान कहाँहो ? भनेर चिन्तन गर्नुको नामनै स्वस्थानी हो ।
कथामा विभिन्न सन्दर्भलाई एउटा रुपकको रुपमा लिई चर्मचक्षुले मात्र नहेरी आध्यात्मिक दृष्टिकोणबाट हेर्ने हो भने यहाँ थुप्रै सन्देश स्वस्थानी व्रतकथाबाट प्राप्त हुन्छ जसले सत्कर्म प्रति रहन सदा प्रेरणा दिइरहेको हुन्छ ।
आफूले आफूलाई हेर्ने र चिन्ने अनि माया केहो ? जीव केहो ? जीवन र जगत केहो ? भनेर चिन्तन मन्थन गरि स्व स्थानमा सदा स्थित रहनु नै वास्तविक स्वस्थानी व्रत हो । उत्तरायण पछिको समय ज्यादै प्रभावकारी रहेकोले पूजापाठ, ध्यान एवं योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्म कल्याणका लागि अभ्यास गर्नुलाई नै स्वस्थानी भनिएको विश्वास पनि गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन सबै सामग्रीहरु १०८ का दरले चाहिन्छ । १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, १०८ दक्षिणा , १०८ बेलीपुष्प र विभिन्न फलफूल,मौसम अनुसारको फलफूल , धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइ यस व्रतको समाप्ति गरिन्छ ।
अन्तमा चढाइएका प्रसादमध्ये सबैबाट आठ , आठका दरले सगुन समेत पतिलाई दिइन्छ , पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मित छोरा पनि नभए मेरो कामना सिद्ध होस् भनि नजिकैको पवित्र नदीमा लगि बगाउने प्रचलन रहेको छ ।
सय रोटी व्रतालु आफैँले प्रसादका रुपमा ग्रहण गरी रातमा भजन कीर्तनका साथमा जाग्राम बसिन्छ।
जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । विधिपूर्वक व्रत नबस्नेहरूले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् ।
यस प्रकारकले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिनमा समापन गरिन्छ ।
स्वस्थानी व्रत कथामा भने बमोजिमको बिधिपूर्वक व्रत बसि पूजा गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ। रोघब्याधी निको हुन्छ। कसैलाई पति वरण गरेको भए पति प्राप्त हुन्छ। जस्तै कथा अनुसार पार्बतीले महादेवलाई पति पाऊँ भनि स्वस्थानी परमेश्वरीको व्रत बसि वरण गरेकीले महादेव पति पाइन् ।
बिछोड भएका नागनागिनीको मिलन भएको थियो । गोमा ब्राह्मणीले हराएको आफ्नो छोरो नवराजलाई लावण्य देशका राजाको रूपमा पाइन् । चन्द्रावती आफ्ना सम्पूर्ण रोग र पाप बाट मुक्त भएर लावण्य देशकी रानी भएकी प्रसङ्ग पाउन सकिन्छ । नेपालीहरूले एउटा परं पवित्र सांस्कृतिक, धार्मिक, पारिवारिकर पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रत हो। नेपालीमा स्वस्थानी भगवतीको पूजाको ठूलो महत्व छ ।