News

विद्यालय सहयोगी ३३ वर्षदेखि अस्थायी!

विद्यालय सहयोगी ३३ वर्षदेखि अस्थायी!

दमौलीः अस्थायी शिक्षकले विभिन्न चरणमा आन्दोलन गरेर परिक्षा मार्फत आफूलाई स्थायी गराइसके । तर विद्यालय सहयोगीको पिडा भने जस्ताको तस्तै छ, अर्थात् उनीहरु वर्षौदेखि अस्थायीकै रुपमा सेवा गर्न बाध्य भएका छन् ।

तनहुँको भिमाद गाउँपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत विद्यालयका सहयोगी केशरसिंह थापा ३३ वर्षदेखि अनवरत अस्थायीकै रुपमा सेवा गरिरहेका छन् । २००९ सालमा स्थापना भएको सो विद्यालयमा आफू भन्दापछि नियुक्ति लिएर आएका दर्जनौं अस्थायी शिक्षक स्थायी भएर गईसके तर आफू ३३ वर्षदेखि निरन्तर अस्थायी नै सेवा गरिरहेको उनले बताए । ५४ वर्ष उमेर पुगिसकका उनी अब बढिमा ६ बर्षसम्म मात्र सेवा गर्न सक्छन् । 

जीवनको ऊर्जाशिल समयमा विद्यालय सहयोगीको रुपमा सेवा गरेपनि अब बुढ्यौली लागेपछि बिना पेन्सन घर फर्कनु पर्ने होकि भन्दै उनी त्रासमा छन् । २०४२ सालमा सोही विद्यालय सहयोगीको नियुक्ती पाएका उनले अहिलेसम्म हरेक दिन विद्यार्थी र शिक्षकको सेवा नै गरिरहेका छन् । उनले आफ्नो पालाभरी हालसम्म १० जना भन्दा बढि त प्रधानाध्यापक नै पाइसकेका छन् भने शिक्षक त कति–कति आफैलाई सम्झना नै छैन ।

सबै अस्थायी शिक्षकहरुले स्थायी बन्न पटक पटक आन्दोलन गरेपनि आफू जस्ता सहयोगीहरु कसरी स्थायी बन्ने भन्ने प्रक्रिया नै थाहा नभएको उनले बताए । ‘कसैले पनि आन्दोलन गर्न बोलाउँदैनन्’, उहाँले भन्नु भयो ‘स्थायी बनिने कसरी रहेछ?’ थापाले अहिले मासिक ७ हजार पाँच सय तलब पाउछन् । यो तलब पनि सरकारी स्केल अनुसार नभएको उनले गुनासो गरे ।

विद्यालयकी प्रअ प्रेमकुमारी गुरुङले सहयोगी थापाले ३३ वर्ष देखी कुनै दिन नबिराई विद्यालयमा सहयोगीको भुमिका निभाउनु भएको भन्दै उनी जस्ता विद्यालय सहयोगीहरुलाई पनि स्थायी नियुक्ती दिईनु पर्ने बताए । प्रअ गुरुङका अनुसार नियुक्ती भएपछि अहिलेसम्म कुनै पनि दिन उहाँले विद्यालयको सेवा गर्न छोड्नु भएको छैन । प्रअ गुरुङकै बुवा सन्तवीर गुरुङ प्रअ हुँदा थापालाई विद्यालय सहयोगीमा नियुक्ती दिएका थिए । हाल बेलायती सैनिकको पेन्सन बुझ्दै बस्नु भएका तत्कालिन प्रअ गुरुङले थापालाई आफुले ३३ वर्ष अघि नै नियुक्ति दिएपनि हालसम्म स्थायी हुन नसक्दा निकै दुःख लागेको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर आले बर्षौदेखि सेवा गरिरहेका विद्यालय सहयोगीहरुलाई पनि प्रक्रिया पुर्याएर राज्यले स्थायी गराउनु पर्ने बताउँछन् । ‘यो त सरकारी कर्मचारी माथिको विभेद भयो’ उनले भने, ‘अन्य क्षेत्रका सबै स्थायी भईसक्दा विद्यालय सहयोगी भने बर्षौदेखि अस्थायी नै छन्, उनीलाई पनि स्थायी गर्नु पर्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।  

अस्थायी शिक्षक विद्यालय सहयोगी अस्थायी

विशेष