News

उखु किसान र सरकारबीच भएको सहमति कार्यान्वयन भएन, १९ प्रतिशत मात्र भुक्तानी

उखु किसान र सरकारबीच भएको सहमति कार्यान्वयन भएन, १९ प्रतिशत मात्र भुक्तानी

काठमाडौँ – उखु किसान र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको अवस्था देखिएको छ।

सरकार र मिल सञ्चालकले उखु किसानलाई पुस २५ गतेसम्ममा भुक्तानी दिन बाँकी रहेको मध्ये ८० प्रतिशत रकम दिने बताए पनि त्यो भन्दै निकै कम मात्रै भुक्तानी पाएपछि ठगिएको महशुस भइरहेको किसानहरुले बताएका छन् ।

किसानको काठमाडौँ केन्द्रित आन्दोलनपछि सरकार तथा चिनी मिल सञ्चालकले भुक्तानी दिन बाँकी मध्ये ८० प्रतिशत पुस २५ गतेसम्म र बाँकी रकम माघ ७ गते भित्र दिने सहमति गरेका थिए । तर उखु किसानले भने आफूहरुले सहमति अनुसार भुक्तानी नपाएको बताएका छन् । किसान संघर्ष समितिका सदस्य राजेश यादवका अनुसार किसानले अति कम मात्रै भुक्तानी पाएका छन् ।

किसानलाई ५० करोड भुक्तानी दिन बाँकी हरेको अन्नपूर्ण सुगर मिलले शुक्रबारसम्म दुई करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानी दिएको यादवले बताएका छन् ।यस्तै किसानलाई २१ करोड रुपैयाँ भुक्तानी दिनु पर्ने महालक्ष्मी सुगर मिलले शुक्रबारसम्म मात्रै ११ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको यादवले जानकारी दिए । साढे ९ करोड भुक्तानी दिन बाँकी रहेको महालक्ष्मी मिल सञ्चालनमा आएको छ ।

दुई मिलले गरेर किसानलाई ७१ करोड भुक्तानी दिनु पर्नेमा हालसम्म १४ करोड मात्रै दिएका छन् । अर्थात १९ प्रतिशत मात्रै भुक्तानी भएको छ। आफूहरुले पाउनु पर्ने रकम माग गर्दै सर्लाहीका उखु किसानले केही दिनअघि काठमाडौँमा आन्दोलन गरेका थिए । 

विशेष