News

प्याजको मूल्यमा भारी गिरावट

प्याजको मूल्यमा भारी गिरावट

काठमाडौंः भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ । एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ । वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकिलो एक सय रुपैयाँमा किनबेच भइरहेको  छ । काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा भने बिहीबार किलोको १३० रुपैयाँ थियो । कालीमाटीमा साताअघि (पुस १६) भारतीय प्याजको मूल्य १९५ रुपैयाँ थियो ।

‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’ कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन् ।’  व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन । यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ ।

भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्याज गिरावट कालीमाटी तरकारी बजार

विशेष