छोराको विभत्स हत्यापछि शोकमा कार्की परिवार, भन्छन बुढेसकालको साहारा खोसियो
धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ घलेगाउँकी सरस्वती कार्की (सरिता) को परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निद्रा। उनी कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्। घरको जेठा गुमाउनुपर्दा आमा सरस्वतीको पीडा खपिनसक्नुको छ। गलेको शरीर निन्याउरो अनुहार बनाएर रुँदै बाँच्नुबाहेक अरू केही छैन।
घरनजिकैको जंगलमा मारेर आगो लगाइदिएको अवस्थामा छोरा सन्तोष कार्कीको शव फेला परेपछि कार्की परिवारको खुसी पनि जलेको हो। सधैं साथै बस्ने छोरा गुमाउनुको पीडा आमा सरस्वतीको मनले थाम्न सकेको छैन। ‘आँखैअगाडि छोराको लाश देखे पनि विश्वास लागेको छैन,’ उनले भनिन्, ‘शरीर पूरै जलेको छ, कसैले मारेर पछि आगो लगाइदिएकै होला।’
२१ वर्षीय छोरा सन्तोष कार्कीको शव घरनजिकैको जंगलको खोल्सामा डढेको अवस्थामा फेला प-यो। गत मंसिर २४ गतेदेखि सन्तोष हराएका थिए। मिल गएका आमा र खेत गएका बुबा र बहिनी बेलुकीमात्रै घर आए। त्यतिबेला छोरा घरमा थिएनन्। छरछिमेकमा गए होलान् भनेर त्यति खोजी गरेनन्। राति अबेरसम्म घर नफर्किएपछि खोजी गरे तर भेटिएनन्। आफन्त, साथीभाइ सबै ठाउँमा खोजी भयो तर सन्तोषको अत्तोपत्तो लागेन।
५१ वर्षीय बुबा शरण कार्कीका अनुसार सन्तोष चार वर्षअघिदेखि गाडी–लाइनमा सहचालकको रूपमा काम गर्ने गर्थे। डेढ वर्षअघि गाडी–लाइनमा हिँड्दा सामान्य झगडा हुँदा अर्को ट्रकका मानिसहरू आएर कुटपिट गर्न थालेपछि भागेर ज्यान बचाएका थिए। दसैं यताबाट आमाबुबासँग घरमा बस्दै आएका सन्तोष न साथीभाइको लहैलहैमा हिँड्थे, न जाँडरक्सी खान्थे। प्रहरीले पनि सन्तोषलाई खोजे तर पत्ता लागेन।
हराएका छोरा १५ दिनपछि पुस ९ गते घरनजिकैको करिब एक किलोमिटर पर जंगलमा भेटियो। गाउँकै बालबालिकाहरू खेल्न गएको बेला थाक्रे गाउँपालिका–२ गणेशथाननजिकैको जंगलमा जलेको अवस्थामा सन्तोषको शव भेटिएको हो। छोराको शव जलेको अवस्थामा भेटियो भन्ने खबर पाउँदा आमा, बुबाको मन भाँचियो। रुवाबासी चल्न थाल्यो। चिन्नै नसक्ने गरी जलेको शव आमाले हेर्न सकिनन्।
इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा आएर मुचुल्कासहित शव पोस्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाए। पोस्टमार्टम रिर्पोटमा अस्पतालले ‘मारेर आगो लगाइएको’ पुष्टि गरेको सन्तोषका बुबा शरण कार्कीले बताए। ‘घटनाको प्रकृति हेर्दा पनि मेरो छोरा आफैं मरेको होइन, कसैले मारेर आगो लगाइदिएको हो। मारेर भित्तामा अढेस लगाएर राखेको अवस्थामा भेटियो,’ उनले भने, ‘जसले मेरो बुढेसकालको सहारा खोस्यो, हत्यारालाई कडा कारबाही भएमात्रै छोराको आत्माले शान्ति पाउँछ।’
‘साथीभाइ, छरछिमेक कसैलाई शंका गर्ने ठाउँ छैन। छिमेकी भएपछि सामान्य झैझगडा भइहाल्छ। छरछिमेकी भनेको अैंचोपैंचो सुख–दुःखमा काम लाग्ने सारथी हो। यति ठूलो बज्रपात छिमेकीले पारिदियो भनेर कसरी सोच्न सक्छु,’ शरण कार्कीले भने, ‘डेढ वर्ष पहिले छोरासँग भएको झगडाले हो भनौं भने घरनजिक ल्याएर यस्तो किन गथ्र्याे। मेरो छोराको ज्यान लिएर मेरो बुढेसकालको सहारा खोस्ने को हो ? चाहे जो भए पनि हत्याराले सजाय नपाई मेरो छोराको आत्माले शान्ति पाउँदैन।’
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार घटना भएदेखि निरन्तर अनुसन्धान भइरहेको छ। प्रहरीले हत्यारा चाँडै पत्ता लगाउने छ। सन्तोष हराएको एक महिना र शव फेला परेको १५ दिन बितिसकेको छ। हत्यारा चाँडै पत्ता लाग्ने आश्वासन प्रहरीले दिइरहे पनि समेय त्यसै बितिरहेकाले हत्यारा पत्ता लाग्नेमा पीडित परिवारलाई खासै विश्वास छैन। ‘दैनिकजसो घरमा प्रहरीहरू आउने त गर्छन् तर छोरालाई कसले मा-यो भन्ने बारे गतिलो खबर दिँदैनन्,’ सन्तोषका बुबा शरणले क्षुब्धता व्यक्त गर्दै भने, ‘यति लामो समय भइसक्यो। अझै हत्याराको खुट–खबर केही छैन। यसैयसै समय बित्ला, न्याय नपाइएका कि भन्ने शंका लागेको छ।’ यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन।
कार्की दम्पती