विदेश

ओमानका राजा सुल्तानको निधन, तीन दिनको राष्ट्रिय शोक

ओमानका राजा सुल्तानको निधन, तीन दिनको राष्ट्रिय शोक

एजेन्सीः ओमनका राजा (सुल्तान) काबूस बिन सईदको शुक्रबार निधन भएको छ । काबूसको निधनमा ओमानमा आज तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । सुल्तान काबूस ७९ वर्षका थिए । सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए ।

सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको हो । काबूसको अविवाहित थिए । उनको कुनै सन्तान नभएकाले उत्तराधिकारीलाई लिएर अन्यौलता छाएको छ । सुल्तानको निधनपछि तीन दिनभित्र नयाँ राजा सुन्न पर्ने नियम छ । देशको शाही परिवार परिषद्ले नयाँ सुल्तानको लागि पहिलो प्रयास गर्नेछ । परिषदमा ५० पुरुष सदस्य छन् । 

यदी परिषदले उत्तराधिकारीको निर्णय गर्न सकेन भने सुरक्षा परिषद र सर्वोच्च अदालत, सुझाव परिषद र राज्य परिषदका अध्यक्षको उपस्थितिमा एक बन्द चिठ्ठी खोलिनेछ, जसमा सुल्तानले जिवित छदाँ गोप्य रुपमा आफूलाई मन पर्ने व्यक्तिको नाम लेखेका हुन्छन् । उक्त पत्रमा जसको नाम हुन्छ, सोही व्यक्तिले राजगद्दी सम्हाल्ने छ ।
 
सुल्तान कबूस ओमनका सर्वोच्च निर्णयकर्ता थिए । उनले प्रधानमन्त्री, सेनाको सर्वोच्च कमाण्डर, रक्षा मन्त्री, अर्थ मन्त्री र विदेश मन्त्री पद सम्हालेका थिए । सुल्तानले २९ वर्षको उमेरमा आफ्ना उग्र रुढिवादी पिता साइद बिन तैमुरलाई सत्ताच्युत गरेर सत्तामा आएका थिए । उनका पिताको शासनमा कसले विवाह गर्ने, कसले पढ्ने र कसले देश छाड्ने भन्ने कुरा पनि सुल्तानले निर्णय गर्थे ।

कबूस शासनमा आउँदा देशमा जम्मा १० कि.मी पिच सडक थियो । त्यस अवस्थाबाट उनले ओमनलाई आजको समृद्धशाली राज्यमा रुपान्तरित गरे । यसका लागि उनले देशको तेलको बिक्रीबाट आएको खर्च प्रयोग गरेका थिए । उनले आफ्नो शासनकालमा तटस्थ परराष्ट्र नीति अबलम्बन गरेका थिए । त्यही कारणले ओमनले सन् २०१३ मा इरान र अमेरिकाबीच गोप्य वार्ताको सहजीकरण गर्न सकेको थियो ।  

ओमान काबूस बिन सईद

विशेष