News

विभाजित कम्युनिष्ट पार्टीलाई एक हुन प्रचण्डको आह्वान

विभाजित कम्युनिष्ट पार्टीलाई एक हुन प्रचण्डको आह्वान

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । नेकपाद्वारा शनिबार बिहान धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन् । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।’ 
    
उनले कम्युनिष्ट आन्दोलनको सुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै अध्यक्ष प्रचण्डले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताए । उनले भने, ‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।’ 
    
अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए । 
     

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट पार्टी

विशेष