मन्त्रीहरूको गतिविधिमाथि प्रधानमन्त्रीले बढाए निगरानी, ‘कामै छोडेर भेटघाट नगर्नुस्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने ।
प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रधानमन्त्री निगरानी