News

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको २ घण्टा खानतलासी, फेला पर्‍याे गाेप्य प्रमाण

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको २ घण्टा खानतलासी, फेला पर्‍याे गाेप्य प्रमाण

सर्लाही - सर्लाहीमा ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवको घरमा प्रहरीले खानतलासी गरेको छ। सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी गरिएको जानकारी दिए। प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सितापुरस्थित घरमा आइतबार मध्यान्ह सुरक्षाकर्मीको टोलीले खानतलासी गरेकाे हाे।

यादवको घरमा छापा मार्न जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोली गएको थियो। झण्डै दुईघण्टासम्म प्रहरी टोलीले यादवको घरमा खानतलासी गरेको स्थानीयले बताएका छन्। ‘अभियुक्त यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात संकलनका लागि खानतलासी गरेका हौं’, एसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेकाले थप छानविनको काम भइरहेको छ।’

खानतलासी गर्न आएको प्रहरी टोलीले ऋण लगानी गरेको तमसुक लगायत विभिन्न कागजातहरु नियन्त्रणमा लिएर गएको बताइएको छ। अनुसन्धानमा सहयोगी हुने खालका विभिन्न कागजातहरु नियन्त्रणमा लिइएको छापा मार्न आएका एक प्रहरी अधिकृतले जानकारी दिए।

एसपी पोखरेलका अनुसार यादवमाथि सुरक्षाकर्मीलाई दुव्र्यबहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ। सर्लाही प्रहरीले यादवलाई गत बुधबार हरिपुरबाट पक्राउ गरेको थियो।

ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजिनामा गरिदिएको जग्गा आफू खुशी बिक्री गरेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको लगायत गुनासो बोकेर सर्लाहीबाट एक समूह काठमाडौं गएर गृह मन्त्री रामबहादुर थापा बादल एवं प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीलाई भेटेपछि यादवलाई गृह मन्त्रालयको ठाडो निर्देशनमा सर्लाही प्रहरीले पक्राउ गरेको हो।

पीडितहरुको समूहले सर्लाहीकै ब्रम्हपुरी निवासी संजय गुप्ता रौंनियारविरुद्ध समेत सोही प्रकारको पीडा दिएको गुनासो गरेका थिए। तर रौंनियार भने भारततर्फ भागेको सर्लाही प्रहरीले जनाएको छ।

विशेष