माघ १ मा नेपाल आउँदै भारतीय रेल
काठमाडौँ । कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तर गरिनेछ।
सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालले माघ १ गते नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका हुन्। ‘रेल गुडाएर ल्याउने भएकाले १५ दिन लाग्छ, लगत्तै नेपालमा रेल सुरु हुन्छ’, मन्त्री नेम्वाङले भने, ‘दुईवटा रेल (लोकोमोटिभ) ल्याउँदै छौं।
एउटा माघ १६ मा आइपुग्छ भने अर्को ठीक एक महिनापछि आइपुग्छ।’ नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोकोमोटीभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुनेछ। रेल जीटूजी (दुई सरकारको तहमा) भारतीय कम्पनीसँग किनिएको हो।
नेपाल सरकारले सम्झौताअनुरुप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ। नयाँ रेल जयनगर–जनकपुर–वैजालमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसको दूरी ५१ किलोमिटर छ । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा निर्दोष घोरासईने र गोपीकृष्ण ढुंगानाले लेखेका छन ।
भारतीय रेल नेपालमा