News

माघे संक्रान्ति मेलामा मांस र मदिराजन्य पदार्थ निषेध

माघे संक्रान्ति मेलामा मांस र मदिराजन्य पदार्थ निषेध

नवलपुर। नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ।

माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको पौडेलले बताए । दे

दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरापान निषेध गरिएको घिमिरेले बताए ।

गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरु पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् ।

 

देवघाट माघी मेला

विशेष