'उद्योगमा समावेशी लगानी आवश्यक'
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।
समृद्धि फाउण्डेसनद्वारा आज आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उनले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिए । अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुर्याउनुपर्ने बताए।
समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्रका मुख्य तीन खम्बा सरकार, निजीक्षेत्र र सहकारी क्षेत्रले समावेशी विकासका लागि एकाकार भएर काम गर्न आवश्यक रहेको विचार प्रकट गरे ।