निर्देशन कार्यान्वयन नगरेको भन्दै मन्त्रीसँग जवाफ माग्ने
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले समितिको निर्देशन कार्यन्वयन नगर्ने मन्त्रालयहरुसँग निर्देशन कार्यन्वयन नगर्नुको कारण माग गर्ने भएको छ ।
समितिको आज बसेको बैठकले बजार अनुगमनपछि सम्बन्धित मन्त्रालयलाई दिएको निर्देशन र मेलम्ची खानेपानीका विषयमा खानेपानी मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा मन्त्रीसँग जवाफ माग्ने भएको हो ।
बैठकमा समितिका सदस्य दीनानाथ शर्मा, कालिबहादुर मल्ल, भैरब सुन्दर श्रेष्ठ र विमला राई पौडेलले समितिले गरेको निर्णय र निर्देशनलाई सम्बन्धित मन्त्रालयले बारम्बार अटेर गरिरहेकाले अन्य विषयमा छलफल र निर्णय लिनुअघि पहिले गरिएका निर्णय र निर्देशनमा गम्भिर ढंगले छलफल गरिनुपर्ने बताउनुभयो ।
सदस्य महेशकुमार महराले समितिको निर्देशन संसद सचिवालयले नै अटेर गरिरहेको भन्दै अरुलाई निर्देशन दिने र कार्यान्वयन भए नभएको खोजिनुपर्ने बताउनुभयो ।
समिति सदस्यहरुले पुरानो संसद भवन र त्यसभित्रका सामानहरुको संरक्षण र पुनःप्रयोगका विषयमा दिएको निर्देशन संघीय संसद सचिवालयले नै अटेर गरिरहेको भन्दै सभापतिमार्फत सचिवालयको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा समिति सदस्यहरु कमलाकुमारी ओली, कविता बोगटी, मुक्ताकुमारी यादव र खिमबहादुर बिकले समितिको निर्णय र निर्देशन सुनुवाई नहुनु गंभीर विषय भएको बताउनुभयो ।