संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरीको सीमा पोष्ट स्थापना
संखुवासभा जिल्ला भोटखोला गाउं पालिका १ स्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो ।
मंगलबार पूर्ब क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार संयुक्त रुपमा सो बिओपिको उद्घाटन गरेका हुन् ।
बिओपी स्थापनाको लागि सोमबार पूर्व क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो । स्थानीय व्यक्तिको २ वटा २ तले घर भाडामा लिएर सो बिओपी स्थापना गरिएको बताइएको छ । सो स्थान सदरमुकाम खाँदवारीबाट ११० किमि टाढा र नेपाल चीन सीमाबाट १ किमि नजिक छ ।
यो संगै सशस्त्र प्रहरीको बिओपी संख्या ११२ पुगेको छ । अन्य थप स्थानमा समेत बिओपी स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ । केही दिन अघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ बिओपी स्थापना गर्ने योजना अनुसार नै यी बिओपी स्थापना भएका हुन् ।
संखुवासभा सशस्त्र प्रहरी