दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान
सिन्धुली– भैँसीपालन गर्ने व्यावसायिक किसानले दुध बिक्री नभएको गुनासो गरेका छन्। दुधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दुध बिक्री नभएको गुनासो गरेका हुन्।
हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गरिन्, तर दुध बिक्री नहुँदा समस्यामा परेको बताइन्। पर्मिलाले भनिन्, ‘आफ्नै लगानीमा भैँसी पालेर दुध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दुध नै बिक्री नभएर समस्या थपिएको छ।’
उनका अनुसार दैनिक ६० लिटर दुध उत्पादन हुन्छ तर बजार भने छैन। लगानी डुबिसकेको र दुधको बजारीकरणका लागि सहयोग गरिदिन दुधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ थियो। उनी भन्छिन्, ‘अब विस्तारै भैँसी नै बिक्री गर्ने योजना पो बनाएको छु।’
दैनिक दुध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गरेकी थिइन्। सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ। ‘दुध बिक्री नभएपछि भैँसी नै बेचेँ, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन। अब के गर्ने अन्योल भएको छ’, उनले भनिन्।
भैँसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा परेका छन्। उनी भन्छन्,‘दुध उत्पादन हुन्छ, तर न बजार छ न मूल्य, बरु भैँसी नै बेच्न सजिलो। भन्नेबित्तिकै बिक्री भइहाल्छ।’
दुध बेचेको पैसाले घर चलाउने सोच राखे पनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैँसी पाल्नुपरेको उनले सुनाए। यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उनको भनाइ थियो। सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ। बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ। ‘गाउँघरमा एकरदुई माना दुध बेचेर टिक्न मुस्किल भयो’, उनले दुखेसो पोखे।
किसानहरु मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दुध नियमित नलिएको उनीहरुको भनाइ थियो। ‘भैँसीले नियमित दुध दिन्छ, कसरी दुधको व्यवस्थापन गर्ने, दुध तताएर दही बनायौँ, मोही बनाएर घ्यू निकालौँ भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दुध आउँछ तर स्थानीय उत्पादन बिक्री हुँदैन’, उनको गुनासो छ।
यस्तै जगतबहादुर कार्कीले पनि चार भैँसीको दुध बिक्री नभएर दुई वटा बेचे। बाँकी पनि बेच्ने योजना उनको छ। दुध बिक्री भए भैँसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाएका जगतबहादुरले बजार नै नपाएपछि भैँसी पालेर मात्र काम नभएको बताए।
‘आफूजस्ता धेरै किसानको यही समस्या छ’, उनले भने ‘अन्तका किसानले एउटा भैँसीको बिहानको दुध बेचेर घर खर्च चलाएको र बेलुकाको दुध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दुध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार चार भैँसी पालेँ, तर सकिँदोरहेनछ, बजार नै भेटिएन।’
दुध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन्। अधिकांश भैँसीपालक किसानको समस्या उस्तै छ। उत्पादन भएको दुध बिक्री नहुँदा आफैलाई भैँसी पालेको सजाय पाएको किसानको दुःखेसो छ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दुध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताए। नगरपालिकाका अन्य स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दुध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उनले बताए।
नगरपालिकाले दुधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्नेसमेत नगरप्रमुख राउतले बताए।
नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर ५२ रुपैयाँ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा सङ्कलन केन्द्रको स्थापना र बजारीकरणमा नगरापलिका तयार रहेको उनले बताए।
यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दुध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताए।