आपूर्तिमन्त्रीकै टेबलमा लेबलबिनाको पानी
काठमाडौं। आमउपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख (म्यादबिना) नभएको खानेपानीको बोतल फेला परेको छ।
उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने उक्त मन्त्रालयका विभागीय मन्त्री लेखराज भट्ट र सचिवद्वय वैकुण्ठ अर्याल तथा यामकुमारी खतिवडाको टेबलमा लेबल उल्लेख नभएको सिलबन्दी खानेपानीको बोतल फेला परेपछि उत्पादकलाई कारबाही गरिएको छ। अक्वा मिनरल्स नेपाल प्राइभेट लिमिटेडबाट उत्पादित पाँच सय एमएलको ‘अक्वा हन्ड्रेड’ ब्रान्डको पानीको बोतलमा लेबल उल्लेख नभएको फेला पारिएको थियो।
बोतलमा लेबल उल्लेख नभएको फेला पारिएपछि मन्त्री भट्ट र सचिव अर्यालको विशेष निर्देशनमा पानी उत्पादन गर्ने उद्योगबाट एक लाख रुपैयाँ जरिवाना गराइएको छ। मन्त्रालयकै अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार उक्त पानी उद्योगबाट आर्थिक जरिवाना गराएको हो। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा राजेश बर्माले लेखेका छन।