News राजनीति

पुरानो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन

पुरानो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ । मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।

समिति सभापति खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् । सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ । अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राविधिकले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा बताएका थिए ।

विशेष