News अर्थ

अबदेखि बैंकमा पैसा जम्मा गर्नेले पनि तीन पुस्ते विवरण भर्नुपर्ने

अबदेखि बैंकमा पैसा जम्मा गर्नेले पनि तीन पुस्ते विवरण भर्नुपर्ने

काठमाडाैं – बैंकमा पैसा जम्मा गर्नेले पनि तीन पुस्ते विवरण भर्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले आजदेखि गो–एएमएल प्रणालीमार्फत कारोबार सुरु गरेका छन् ।

गत महिना नियामक राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकहरूले आजबाट गो–एएमल प्रणाली लागू गरेका हुन् । यो प्रणाली लागू भएसँगै बैंक तथा वित्त कम्पनीमा कुनै व्यक्तिको खातामा रकम जम्मा गर्दा त्यस्ता व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण खुलाउनुपर्ने छ भने नागरिकता, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा पासपोर्ट अनिवर्या आवश्यक पर्छ ।

बैंकहरूले पनि गो–एएमएल सफ्टवेयरमा बैंकले आफ्ना नयाँ वा पुराना सम्पूर्ण ग्राहकको विवरण राख्नेछन् । नेपाल राष्ट्र बैंकका अनुसार अब बैंकहरूले ग्राहकसँग केही कागजपत्र अपूरो नै राखेर खाता खोलेको भए ती अपूरा कागजपत्र बैंकले पुनः माग गर्नेछन् । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा हुन सक्ने वित्तीय लगानी रोक्न यो प्रणाली लागू गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । गो–एएमएल अन्तर्राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण निवारणका लागि भित्र्याइएको सफ्टवेयर हो ।

राष्ट्र बैंकले पुसमा बैंक तथा वित्तीय संस्थालाई गो–एएमएल सफ्टवेयर राख्न निर्देशन दिएको थियो । सोहीअनुसार वाणिज्य बैंकहरुले आजदेखि प्रणालीबाट कारोबार सुरु गरेका हुन् । आजका मितिदेखि वाणिज्य बैंक र आगामी १ असार २०७७ देखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ ।

वाणिज्य बैंकहरूले वित्तीय जानकारी इकाईमा पेस गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार तथा गतिविधिको रिपोर्ट अनिवार्य रुपमा गो–एएमएलमार्फत राष्ट्र बैंकलाई जानकारी गराउने छन् । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूले दैनिक १० लाखभन्दा माथिको कारोबारको मात्रै विवरण पठाउने गरेका थिए ।

विशेष