विश्व बैंकद्वारा २३ अर्ब ऋण स्वीकृत
काठमाडौं - विश्व बैंकले पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ)ऋण सहायता स्वीकृत भएको जनाएको छ ।
विश्व बैंकले भूकम्पले भत्काएका थप ८६ हजार घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको जानकारी दिएको छ ।परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गर्न लागेको हो । सन् २०१५ को भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो अनुदान उपलब्ध गराउने गरी विश्व बैंकले यो रकम उपलब्ध गराएको हो ।
भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुनेछ । नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका लागि कन्ट्री म्यानेजर स्वाराही रिडिहोले नेपाल सरकारको पुनर्निर्माणमा गरिरहेको काममा विश्व बैंकले साथ दिइरहेको उल्लेख गरेका छन् ।
विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो । सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो । विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ ।