३० थान मोबाइलसहित दुई जना पक्राउ
काठमाडाैँ – इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गरे ।
उनका अनुसार बनेपा नगरपालिका– ८, बसपार्कमा रहेको पसल दर्ता नै नगरी सुनील खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीका २१ थान र वडा नं ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआईजी मोबाइल सेन्टरबाट ९ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो ।
बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार १७ हजार ६ सय रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँ सम्मका छन् ।बरामद गरिएका १० लाख १७ हजार ५ सय रुपैयाँबराबरका मोबाइल राजस्व कार्यालय हरिहरभवन पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ ।
पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौंबाट ल्याई बेच्ने गरेकाे पाइएको प्रहरीको भनाइ छ । ती पसल सञ्चालकलाई राजस्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।