News

सभामुखका लागि अन्तिमसँग लड्छु: तुम्बाहाङ्फे

सभामुखका लागि अन्तिमसँग लड्छु: तुम्बाहाङ्फे

नुवाकोट। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख पदमा दाबी नछाड्ने बताएकी छन् । उनले माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने पनि बताइन् । ‘लडाइँ अन्तिमसम्म कायम रहन्छ,’ गोसाइँकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा आएकी उनले कान्तिपुरसित भनिन् । 

उपसभामुख तुम्बाहाङ्फेले संविधानअनुसार आफू निर्वाचित भई शपथ लिएर आएकाले कुनै दलले छाड् भन्दैमा पदबाट राजीनामा नदिने बताइन् । दलले राजीनामाका लागि निर्देशन दिन नसक्ने उनको भनाइ थियो । ‘प्रतिनिधिसभा सार्वभौम संस्था हो । मैले संविधानलाई कार्यान्वयन गर्छु भन्दा एउटा दलले मलाई निर्देशन दिन सक्दैन,’ उनले भनिन् ।

उपसभामुखलाई राजीनामा गराएर प्रतिनिधिसभालाई दलहरूले नेतृत्वविहीन बनाउन नमिल्ने उनले बताइन् । संविधानले बीचमा पद खाली बनाउने अवस्था किटान नगरेको उनको जिकिर थियो । उनले दलहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहन पनि आग्रह गरिन् । ‘प्रतिनिधिसभालाई रिक्त बनाएर तुरुन्तै राजीनामा दिनेवाला छैन । जब दलले आफ्नो उम्मेदवार तय गर्छ, तब म राजीनामा दिन्छु,’ उनले भनिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। 
 

शिवमाया तुम्बाहाङ्फे

विशेष