ओली–प्रचण्डबीच २ घण्टा लामाे छलफल, सभामुखबारे भयाे यस्ताे निर्णय
काठमाडौँ – नेकपाभित्र जटिल बनेको सभामुख चयन प्रक्रियामा परेको गाँठो फुकाउन दुई अध्यक्षबीच करिब ५ दिनपछि बिहीबार २ घण्टा लामाे छलफल भएकाे छ।
नेकपाभित्रै सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकरुपता नभएपछि केही दिनयता उनीहरुबीच संवाद भएकाे थिएन।
५ दिनको मौनतापछि प्रधानमन्त्री समेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको हो । ‘छलफल सकारात्मक ढङ्गले अघि बढेको छ’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘पुनः शुक्रबार छलफल गरेर निश्कर्षमा पुग्न दुवै नेता सहमत भएका छन् ।’
बिहीबारको छलफलमा दुई नेताबीच सभामुखको विषयलाई लिएर देखिएको तिक्तता मेट्ने र सहमतिमा उम्मेदवार चयन गर्नेबारेमा केन्द्रीत भएको अध्यक्ष निकट स्रोतको दावी छ ।
स्रोतका अनुसार बिहीबार दुई अध्यक्षका बीचमा माघ ६ गतेको बैठक बस्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा एकमत भएका छन् ।