News

सवारी साधनमा लाग्ने करको दरमा पुर्नविचार गरिन्छः अर्थमन्त्री खतिवडा

सवारी साधनमा लाग्ने करको दरमा पुर्नविचार गरिन्छः अर्थमन्त्री खतिवडा

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल विश्व व्यापार संगठठनको सदस्य भएको हैसियतले सवारी साधनमा लाग्ने करको दरमा पुर्नविचार गरिने बताएका छन् । नाडाका प्रतिनिधि मण्डलसँगको बुधबारको छलफलमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

छलफलको क्रममा उनले भारतबाट आउने अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउनुपर्ने कुरा सकारात्मक रहेको उल्लेख गरे । 

मन्त्री खतिवडाले उच्च प्रविधिका विद्युतीय सवारी साधनलाई सरकारले उच्च प्राथमिकता दिने बताउदै बैङ्कले लिने व्याज खासगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने जनाए । सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीले महशुस गर्ने गरी कार्यक्रम ल्याइने उनको भनाइ छ ।

नाडा प्रतिनिधि मण्डलले मन्त्री खतिवडासँग फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्या बारे विस्तृत छलफल गरेका छन् । भेटघाटमा नाडा प्रतिनिधि मण्डलका उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो व्यक्त गर्नुभयो । महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवर्द्धनमा देखा परेका समस्या तथा चुनौतिबारे आफ्ना धारणा राखे । 

छलफलमा अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गाना, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ललगायतको उपस्थिति थियो ।

डा. युवराज खतिवडा कर सवारी साधन

विशेष